६ बुँदे जनकपुरधाम घोषणापत्र जारी
जनकपुर । ६ बुँदे घोषणापत्र जारी गर्दै सामुदायिक रेडियोहरुको दुई नम्बर प्रदेश स्तरीय भेला जनकपुरमा सम्पन्न भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) को आयोजनमा जनकपुरधाममा आज भएको भेलाले प्रदेश नं २ का समुदायको इच्छा अनुरुप स्थानीय भाषा, कला, सँस्कृति, धर्म, रीतिरिवाज र स्थानीय भाषाको सम्बृद्धि तथा स्थानीय मुद्दाहरुलाई प्राथमिकताका साथ जगेर्ना गर्ने निष्कर्ष निकालेको दुई नम्बर प्रदेशका अध्यक्ष अशोक दत्तले जानकारी दिनुभयो ।
सामुदायिक रेडियोहरुलाई गुणस्तरीय, प्रभावकारी र आत्मनिर्भर बनाउँदै संस्थागत विकाश र सुशासन कायम गरी सामुदायिक रेडियोको माध्यमबाट संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि भूमिका निर्वाह गर्ने, समाजमा रहेको लैंगिक विभेदलाई अन्त्य गर्न, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि नीतिगत कार्य गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
समाजमा रहेको सामाजिक तथा आर्थिक समानता, सम्बृद्धिका लागि सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा क्षमतामूलक समाज निमार्णका लागि नीतिगत भूमिका निर्वाह गर्नेमा पनि दुई नम्बर प्रदेशका सामुदायिक रेडियो एक मत भएको पनि अध्यक्ष दत्तले बताउनुभयो ।
नेपालमा सामाजिक सचेतना, आर्थिक सम्बृद्धि तथा जनतामा पहुँचको आधारले सशक्त माध्यम सामुदायिक रेडियो भएको हुनाले अन्य सञ्चार माध्यमहरु सरह सामुदायिक रेडियोहरुलाई पनि नेपाल सरकारबाट सेवा सुविधाहरु उपलब्ध गराउन माग गर्ने, सामुदायिक रेडियोहरुलाई मर्या्दित तथा समुदायप्रति उत्तरदायी बनाउँदै रेडियोको आचारसंहिता कार्यान्वयन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष सुवास खतिवडा, वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, महासचिव गोविन्द देवककोटा लगायत पदाधिकारीको दुई नम्बर प्रदेशका सामुदायिक रेडियोहरुको भेलामा सहभागिता रहेको थियो ।
भेलामा प्रादेशिक समितिको कार्य्विधि, आमसञ्चार नीति, सामुदायिक रेडियोहरुले निर्वाचन तथा समग्र अवस्थामा पालना गर्नुपर्ने आचारसंहिता, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति र सामुदायिक रेडियोहरुको दीगोपनाका उपायहरु लगायतका विषयमा छलफल भएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । cinnetwork.org
